Home » » उपचार अभावले सुत्केरीको मृत्यु

उपचार अभावले सुत्केरीको मृत्यु

Written By Unknown on Tuesday, November 22, 2016 | 9:17 AM

Advertisement


मंसिर ७, २०७३- छोराछोरी बराबरी, छोरा नै सबैथोक होइन अदि इत्यादि उदारताका जेजे भनियोस् तर, जतिवटी छोरी जन्मिएपनि छोरा पर्खेर बस्ने बानी समाजबाट हटेको छैन । छोराको आसमा रहेर पाँचौपटक सुत्केरी भएकी एक महिलाको यहाँ उपचारमा ढिलाइले मृत्यु भएको छ ।

उनको काजक्रियामा दुई छोरी बसेका छन् । पाँचौं सन्तान जन्माएपछि बढेको उच्च रक्तचापको बेलैमा उपचार हुन नसक्दा १३ औं दिनमा पुर्कोटदह–१ की ३६ वर्षीया दुर्गाकुमारी भुसालको मृत्यु भएको हो । विपन्न परिवारकी उनले गत कात्तिक २० मा पाँचौ सन्तानलाई जन्म दिएकी थिएन ।

सुत्केरी भएको तेस्रो दिनदेखि नै बिरामी परेकी उनको तत्काल उपचार हुन सकेन । शरीरका बाँयातर्फका अंग चल्न छाडेपछि मात्र छिमेकीले उपचारका लागि पहल गरेका थिए । उपचारकै क्रममा गत शुक्रवार उनको निधन भएपछि १३ र ११ वर्षीया छोरीहरू संगीता र रमिता काजक्रियामा बसेका छन् ।

पुर्खौंली घर बाँझकटेरी छाडेर ज्यालामजदुरी गर्ने क्रममा पुर्कोटदहमा आइबसेका भुसाल परिवारका दुर्गाको किरियामा बस्न दाजुभाइ नभेटिएपछि छोरीहरू बसेका हुन् । छिमेकीका अनुसार आमाको अन्त्येष्टिमा परम्पराअनुसार छोराले गर्ने सबै कर्म छोरीहरुले गरेका छन् ।

किरियामा बसेकी संगीताले भनिन्, ‘सबैको सल्लाहले हामीले नै दागबत्ती दियौं र, किरियामा पनि बस्यौं ।’ छोरा नभएपनि आमाका लागि गर्नुपर्ने सबै कर्म आफूहरुले गरेको उनले बताइन् ।

छिमेकीकै सहयोगमा छोरीले घाटसम्म आमाको शव बोकेर गएका थिए । दागबत्ति पनि दुई बहिनी मिलेर नै दिए । ‘किरिया पनि हामी नै गर्छौं भनेर संगीताले भनेपछि पण्डितसँगको सल्लाहमा उनीहरुलाई नै राखेका छौं’, स्थानीय शिक्षकसमेत रहेका छिमेकी बोमबहादुर कुँवरले भने, ‘नजिक दाजुभाइ रहेनछन्, बाबु पनि किरियामा राख्ने खालको ज्यानका छैनन् ।’ अन्य दुई छोरी ६ र ८ वर्षका छन् । कम उमेरका भएकाले उनीहरूलाई भने किरियामा राखिएको छैन ।

स्थानीय मेडिकल संचालक विश्व भुसालका अनुसार सामान्य अवस्थामा सुत्केरी भएकी दुर्गाकुमारी छोरा नजन्मिएकोमा चिन्तित थिइन् । त्यसको असर र खानपानकै कारण उनको रक्तचाप बढेको र तत्काल जानकारी नभएकाले समस्या देखिएको बताए ।

‘हामीले बिरामी परेको चौंथो दिनमात्र थाहा पायौं’, उनले भने, ‘गाउँमै सहयोग संकलन गरेर सन्धिखर्कमा लगियो, त्यहाँ नभएपछि बुटवल पुर्‍याएपनि ढिला भएकाले उपचार हुन सकेन् ।’ बिरामी अवस्थामै घर फर्काएको पाँच दिनपछि मृत्यु भएको उनले बताए ।
रक्तचापले धेरै अंगमा असर गरिसकेको भन्दै डाक्टरले काठमाडौं लैजान सल्लाह दिएपनि तत्काल ४/५ लाख जुटाउन सक्ने अवस्था नभएकाले बिरामी अवस्थामै घर फर्काउनु परेको श्रीमान दुर्गाप्रसाद भुसालले बताए ।

‘सबैले पैसा दिएर बुटवल पुर्‍यायौं’, उनले भने, ‘त्यहाँ ४/५ लाख लाग्छ, काठमाण्डौं लैजानुपर्छ भनेपछि कुनै उपाय नभएर घरै फर्काएका थियौं ।’ सुत्केरीलाई खुवाउन पोषिलो खानेकुरा पनि नभएको अवस्थामा उपचार गर्ने पैसा आफूले जुटाउन नसकेको उनले गुनासो गरे ।

उनको १७ दिनको नाबालक शिशुलाई परिवार र छिमेकीको सल्लाह अनुसार स्वास्थ्यकर्मी एवं सिर्सेनी–९ का विश्व भुसालले पालनपोषण गरिरहेका छन् । काजकिरियामा लाग्ने खर्चका लागि पुर्कोटबजारबासीको पहलमा चन्दा संकलन भइरहेको शिक्षक कुँवरले बताए ।

‘मेरै नेतृत्वमा सहयोग संकलनको काम गरिरहेका छौं,’ उनले भने, ‘झण्डै ७५ हजार रुपैंया संलकन भएको छ ।’ किरियामा लाग्ने खर्च कटाएर बाँकी रकम छोरीहरूको शिक्षा र पालनपोषणमा खर्च गरिने उनले बताए ।

Popular Posts

Like us on Facebook

Blog Archive

Powered by Blogger.